
तपाईंले यसअघि केकी अधिकारीले अभिनय गरेको ‘ओइलिएर झर्न दिन्नँ’ बोलको गीतको भिडियो हेर्नुभएको छ? सीमा बस्नेत र संगीता थापा मगरमाथि एसिड आक्रमण भएको केही महिनापछि त्यसको विरोधमा सार्वजनिक उक्त गीतमा केकीले एसिड आक्रमणमा परेकी युवतीको भूमिका निभाएकी थिइन्।
यतिबेला भने उनी झनै भिन्न ‘लुक्स’ मा देखिएकी छन्। शीतल कादम्बिनीको शब्दमा राज सागरको संगीत तथा स्वर र पासाङ योन्जन लामाको निर्देशन रहेको गीतमा केकी अपांगता भएकी र कपाल खौरिएको ‘लुक्स’मा देखिएकी छन्। केकीलाई यस्तो लुक्स दिने काम भने सीमा गुरुङले गरेकी हुन्।
‘बर्ड मेकअप’ भनिने यस्तोखाले मेकअप गर्दा कपाललाई भित्र मिलाएर राख्नुपर्छ र बाहिरबाट कपाल सिनित्तै खौरिँदा देखिनेजस्तो ‘विग’ टाँसिन्छ। मेकअप कलाकार गुरुङका अनुसार यस्तो मेकअप गर्दा निकै ख्याल पु¥याउनुपर्छ। ‘यो मेरो पहिलो काम थियो,’ सीमाले भनिन्, ‘सुरुमा त सक्छु भन्ने आत्मविश्वास थियो। यो भिडियोको क्यामराम्यानले पहिल्यै यस्तो लुक्समा काम गर्न खोज्दा अर्को मेकअप कलाकारले सक्नुभएको रहेनछ। यसपछि ममा पनि कता–कताबाट डर पसेको थियो। तै, सकेँ।’
मेकअप गर्दै सीमा
उनको भनाइमा करिब दुई घन्टा समय लगाएर यस्तो लुक्स पाएपछि केकी पनि निकै खुसी भएकी थिइन्। ‘उहाँलाई म्युजिक भिडियोमा ‘एक्स्ट्रा लुक्स’ दिन मन लागेको रहेछ। यस्तो मेकअप पाउँदा उहाँ निकै उत्साहित देखिनुहुन्थ्यो,’ उनले भनिन्।
भिडियोमा केकीका अलावा सन्दीप र विनाेद पौडेलले अभिनय गरेका छन्।
Top Musics
Tuesday, 22 November 2016