बुटवलको पुष्पलाल पार्कमा रहेको शहिद स्तम्भलाई हटाएर प्रदर्शनकारीले राष्ट्रिय झण्डा गाडेका छन्। दिउँसैदेखि स्तम्भ हटाउने प्रयास गरेका प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै स्तम्भको ठाउँमा राष्ट्रिय झण्डा गाडेका हुन्।
हँसिया हथौडा अंकित उक्त स्तम्भ हटाउने खोज्ने प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप भएको थियो। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीसँग केहीबेर ढुंगा हानाहान भएपछि प्रहरी पछाडि हटेको हो। उक्त स्तम्भ माओवादी नेता टोप बहादुर रायमाझीले २०७० सालमा उद्घाटन गरेका थिए।
बुधबार बिहानैदेखि प्रदर्शन शुरु भएको बुटवलमा बिहीबार पनि बिहानैदेखि प्रदर्शन शुरु भएको थियो। आन्दोलनको क्रममा केही युवाहरुको समुहले पुष्पलाल पार्कमा माओवादी केन्द्रले निर्माण गरेको सहिद स्तम्भ भत्काउने प्रयास गरेपछि केहीबेर दुई पक्षबीच झडपको भएको थियो। दिउँसो २ बजेतिर केही युवाहरुले स्तम्भ पार्कको वरिपरिको पर्खाल भत्काएपछि प्रहरीले सुरक्षा घेराभित्र राखेको थियो।
दुई घन्टा आमनेसामने भएका प्रदर्शनकारी र प्रहरीबीच दिउसो चारबजे ढुंगा हानाहान भएको हो। प्रहरीले प्रदर्शनकारीलाई पुष्पलाल पार्कबाट हटाउन खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए। झडपको क्रममा एकअर्काको ढुंगा प्रहार गरेपनि कोही घाईते भने नभएको प्रहरीले जनाएको छ।
प्रदर्शनमा कुनै दल तथा संघसंगठनले नेतृत्व गरेको छैन। अधिकांश २५/३० वर्ष उमेरका युवाहरुको समूह स्वतःस्फुर्त रुपमा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीले पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, देश टुक्राउने सरकार चाहिँदैन जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए। प्रहरीले अहिले स्तम्भलाई घेरेर राखेको छ। पहिले राजा महेन्द्रको शालिक रहेको उक्त स्थानमा गणतन्त्र स्थापनापछि माओवादीले कम्युनिष्ट स्तम्भ स्थापना गरेको थियो।
माओवादीको नेतृत्वमा सरकार रहेको र माओवादीले नै पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव गरेको भन्दै प्रदर्शनकारीहरु माओवादीप्रति आक्रामक भएका हुन्।
Top Musics
Thursday, 1 December 2016